राजीनामा पत्र बुझाउँदै एमालेका मन्त्रीहरु
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले) कर्णाली प्रदेश सरकारबाट बहिर्गमन भएको छ । सरकारमा सहभागी तीन जना मन्त्रीहरूले आज आईतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् ।
एमालेबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रीमा विनोदकुमार शाह, सामाजिक विकास मन्त्रीमा टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा जीतबहादुर मल्लले जिम्मेवारी लिएका थिए । आज उनीहरुले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाएका हुन् ।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरण अनुसार नेकपा एमाले ३ मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो । गत १७ चैत्रमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले केन्द्रीय गठबन्धन अनुसार नै अघि बढ्ने उद्देश्यसहित सरकारलाई विश्वासको मत दिएको थियो । तर मुख्यमन्त्री शर्माले एमालेका ३ मन्त्रीलाई चाहेर पनि बर्खास्त गर्न सकिरहेका थिएनन् । एमाले बाहिरिएसँगै नयाँ समीकरण अनुसार सरकार गठनको बाटो खुलेको छ।

काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चुनावताका माओवादी अध्यक्ष प्रचण्डले मुख्यमन्त्रीका लागि बचन दिएकाले नेतृत्वमा आफ्नो दाबी रहने बताउँदै आएका छन् । यद्यपि शुक्रबार बिहान माओवादी उपमहासचिव जनार्दन शर्मासँगको भेटपछि भने शाही लचक देखिएका छन् । शर्माले नेतृत्वमा वर्तमान मुख्यमन्त्री नै कायम रहने र साढे २ वर्षपछि शाहीले नेतृत्व गर्ने गरी समीकरण अघि बढ्ने सङ्केत गरे । शर्मा–शाहीबीचको भेटमा प्रारम्भिक सहमति भइसकेको भनिएपछि त्यस्तो लिखित कुनै सहमति भने भएको छैन ।