गण्डकी — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उहाँले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।

’पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौँ’, उहाँले भन्नुभयो, वर्तमान ऐनमा भएका धेरै विषयहरू सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उहाँको भनाइ छ ।

पर्यटनमन्त्री किरातीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने बताउनुभयो । मन्त्री किराँतीले मन्त्रालयले २० वर्षे दीर्घकालीन कार्यक्रम घोषणा नगरी आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरिएको बताउनुभयो ।

‘घुमौँ नेपाल, हेरौँ प्रकृति र चिनौँ संस्कृति’ भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रियस्तरमा समेत गर्ने योजना रहेको मन्त्री किराँतीले सुनाउनुभयो । पोखरालाई ‘ब्राण्डिङ’ र ‘रिब्राण्डिङ’ गर्दै यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले पर्यटनको विकास र विस्तारका लागि पर्यटनलाई उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्री किराँतीले भन्नुभयो, ’म पर्यटन नीति बनाउँछु, पर्यटन बोर्डले प्रवर्द्धनको काम गरोस् । पर्यटन विभागले संरचनागत काम गरोस्, तपाईं व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ ।’