भोजपुर — व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो । उहाँले टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रा पालन गर्दै आएको राउतले बताउनुभयो । ‘तीन देशमा गरी मैले १५ वर्ष विदेशमा बिताए । धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै गर्छु भनेर १० वर्षदेखि यहाँ बाख्रापालन गर्दै आएको छु । यो व्यावसायबाट राम्रो आम्दानी भइरहेको छ’, उहाँले भन्नुभयो ।

विदेशमा गर्ने मेहनत यहाँ गर्न सके आफ्नै ठाउँमा परिवारसँग बसेर राम्रो आम्दानी लिन सकिने राउतको भनाइ छ । विदेशमा बगाउने पसिना यही बगाए देशलाई पनि योगदान पुग्ने र जीविकोपार्जनमा समस्या नहुने उहाँले बताउनुभयो । ‘ठूलो सपना देखेर विदेश गएँ’, उहाँले भन्नुभयो, ‘विदेश जानु पहिला यही व्यावसायिक कृषिमा लागेको भए हुने रहेछ । अहिले पछुताएको छु । योजनाबद्ध रूपमा व्यवसाय गर्न सके यहाँ नै विदेशको भन्दा राम्रो आम्दानी लिन सकिन्छ ।’ 

बाख्रालाई समय–समयमा लाग्ने रोगले भने समस्या दिने गरेको राउतको भनाइ थियो । ग्रामीण भेगमा पशु चिकित्सकको उपस्थिति कम हुने तथा कृषकलाई बाख्रापालन र बाख्रामा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । 

‘बाख्रा बिरामी हुँदा उपचार गराउन समस्या छ’, राउतले भन्नुभयो, ‘राज्यले उपचारका लागि सहज वातावरण बनाइदिए राम्रो हुन्थ्यो । मैले त लामो समय भएकाले अनुभवका आधारमा पनि उपचार गराइरहेको छु । तर भर्खर व्यवसाय थाल्नेलाई भने समस्या छ ।’ उहाँले फार्ममा भएका सबै बाख्र्राको बीमा गराएको भन्दै बीमा रकम लिन भने झन्झट रहेको बताउनुभयो । 

विदेशबाट फर्केर स्थानीय खड्गबहादुर राउतले पनि व्यावसायिक रूपमा सतुवा तथा चिराइतो खेती गर्दै आउनुभएको छ । उहाँले वार्षिक रू तीनदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको बताउनुभयो । ‘विदेशमा लामो समय बिताए । सोचजस्तो आम्दानी गर्न सकिनँ’, उहाँले भन्नुभयो, ‘अहिले व्यावसायिक रूपमा जडीबुटीको खेती गरिरहेको छु । परिवारको दैनिक घर खर्च धानेर राम्रै आम्दानी गर्दै आएको छु ।’

विदेशबाट फर्केर प्रेम बस्नेतले पनि बाख्रापालन गर्दै आउनुभएको छ । व्यावसायिक भएर काम गर्दा आनन्द हुने बस्नेतको भनाइ छ । ‘विदेशमा धेरै नै दुःख छ’, उहाँले  भन्नुभयो, ‘यहाँ दुःख गरेको सबैले देख्छन् । परिवारसँग बसेर मिठोमसिनो खान पाइन्छ ।  विदेशमा गर्ने दुःख यहाँ गर्ने हो भने पैसा कमाउन कुनै समस्या छैन ।’ विदेश यहाँबाट सोचेर गएजस्तो सहज नहुने उहाँको भनाइ थियो ।

विदेशबाट फर्केर यहाँका धेरै युवाले व्यावसायिक रूपमा कृषि व्यवसायका साथै पशुपालन गर्दै आएका छन् । आवश्यक प्राविधिक ज्ञानको अभावका कारण केही समूया हुने गरेको उनीहरुको भनाइ छ । कृषिका क्षेत्रमा राज्यले तालिम तथा आवश्यक प्रविधिक ज्ञान उपलब्ध गराउन सहजीकरण गरिदिए व्यवसायमा लाग्न थप हौसला मिल्ने किसानले बताएका छन् ।