फाइल तस्वीर
विराटनगर — दोस्रो संस्करणको मिल्स क्रिकेट टि–२० प्रतियोगितामा भारत बिहारको नरपथगञ्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ । नरपथगञ्जले भारतको पूर्णिया, वैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

म्यान अफ द म्याचको उपाधिको लागि नरपथगञ्जका रवण कुमार घोषित हुनुभएको छ । आयोजक घरेलु टोली मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले हराउँदै पाहुना टोली नरपथगञ्ज उपाधि नजिक पुगेको हो । उपाधिका लागि नरपथगञ्ज शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्ने छ । एनबीएससी बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै फाइनलमा पुगेको हो ।

विराटनगर जुट मिलको खेल मैदानमा आज सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा एक सय ९९ रनको विजय लक्ष्य पाएको घरेलु टोली विराटनगर १५ दशमलव पाँच बलमा १० विकेट गुमाउँदै एक सय २४ रनमा सीमित भयो । विराटनगरका अरुण एडीले २९, अनिल साहले १८ र सुनिल धमालले १७ रन जोड्नुभयो ।

नरपथगञ्जका दिव्य सिंहले चार ओभरमा तीन विकेट लिनुभयो । सक्षमत शर्मा र रवण कुमारले समान २–२ विकेट लिनुभयो । यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगञ्जले १९ ओभर दुई बलमा १० विकेट गुमाइ एक सय ९८ रन बनाएको थियो । नरपथगञ्जका अविसेक पाण्डे र विजय भारतीले अर्धशतकीय इङनिङ खेल्नुभयो । अविसेकले २० बलमा ५९ रन बनाए भने विजय भारतीले ५५ रनको योगदान दिनुभयो ।

विराटनगरका अरुण एडीले ह्याट्रिक गर्दै चार विकेट लिनुभयो । भुलावन सनीले तीन विकेट लिँदा मन्जिल श्रेष्ठले एक विकेट लिलनुभयो । प्रतियोगिताको विजेताले रु एक लाख ११ हजार र उपविजेतालाई रु ५१ हजार पुरस्कार पाउने मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिनुभयो ।