काठमाडौं — नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा.प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको हो ।

छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । ‘उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ ।’

आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भन्नुभयो, ‘आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ ।’

छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उहाँले बताउनुभयो । ‘उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भन्नुभएको छ, एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्, त्यस्तै सडक आयोजनाहरुमा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ’, अर्थमन्त्री महतले भन्नुभयो ।

नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे ती विकास साझेदारलाई आफुले जानकारी गराएको पनि मन्त्री महतको भनाइ छ । ‘उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीले पनि अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं, यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ’, उहाँले भन्नुभयो ।

नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् । तात्कालिन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताउनुभयो ।

अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थाल्नुभएको छ । तात्कालिन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उहाँले बताउँदै आउनुभएको छ ।