नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’, फाइल तस्वीर
काठमाडौं — भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले आपत्ति जनाएका छन् । मुख्यमन्त्री आदित्यनाथले नेपाल राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति महासचिव विप्लवले आपत्ति प्रकट गर्नुभएको हो ।
देशको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता र जनभावनामाथि गरिएको ठाडो हस्तक्षेप भएको महासचिव विप्लवले जनाउनुभएको छ । नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने धर्म मान्ने कि नमान्ने अधिकार पूर्णतः नेपाली जनतामा रहेको विप्लवको भनाई छ ।
नेकपा महासचिव विप्लवद्वारा विज्ञप्तिमा ‘नेपालमा कस्तो राजनीतिक व्यवस्था हुने र बनाउने साथै धर्म मान्ने कि नमान्ने भन्ने अधिकार पूर्णत नेपाली जनतामा छ । यतिबेला नेपालको दलाल पुँजीबादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो, तर यो व्यवस्था पनि नेपाली जनताको छनोटबाट स्थापित नभइ नयाँ जनतवाद, वैज्ञानिक समाजवादलाई रोक्नका लागि भारत, अमेरिका लगायतको निर्देशनमा लादिएको व्यवस्था हो’ — उल्लेख गरिएको छ ।