सिक्किम — सिक्किमको नाथुलामा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार हिमपहिरोमा परी मृत्यु हुनेमा नेपालबाट सिक्किम घुम्न भनेर गएका चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको), आशिका ढकाल(२२) र रूपन्देहीकी मुना शाह श्रेष्ठ(२९)को हिमपहिरोमा परी मृत्यु भएको हो ।

यसैगरी मृत्यु हुनेमा अन्य चार भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, शौरभ रोय चौधरी र पृतम माटे रहेको बताइएको छ । मङ्गलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक–नाथुला पास जोड्ने जवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन् । २० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्वार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ ।

घाइते तीन नेपाली ज्योति गुरुङ, गीता सापकोटा र रमेश खनालको भने उपचार भइरहेको बताइएको छ ।