काठमाडौं — पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । पछिल्लो दुई सातायता नेपालमा कोरोना सङ्क्रमितको संख्या नियमित बढिरहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार सोमबारसम्ममा देशभर सक्रिय सङ्क्रमितको संख्या २ सय २७ पुगेको छ । नेपालमा अहिले सङ्क्रमितको संख्या बढ्नुमा ओमिक्रोनको नयाँ सब भेरियन्ट एक्सबीबी.१.१६ मुख्य कारक देखिएको हो ।

भारतमा गत जनवरीको दोस्रो साता एक्सबीबी.१.१६ नामक नयाँ सब भेरियन्ट देखिन सुरु भएको थियो । यो ओमिक्रोनको सब भेरियन्ट रहेको विज्ञहरूले बताउँदै आएका छन् । भारतको गुजरात, तेलंगाना, महाराष्ट्र, कर्नाटकलगायतका राज्यमा फैलिएको यो भाइरस नेपालमा भारतबाट नेपाल भित्रिने नाकामा देखिएका सङ्क्रमितहरूमा बढी देखिएको छ ।

भारतमा उक्त भाइरस देखिएसँगै भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको बताइएको छ । चैत महिनाको तेस्रो साता सम्ममा मात्रै ३० जनामा कोरोना पुष्टि भएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिनुभयो ।