राष्ट्रिसभा बैठकमा कृषि मन्त्री डा.वेदुराम भुसाल
काठमाडौं — कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै मन्त्री भुसालले मल, बीउको अभाव, सिँचाई, कृषि उत्पादनको बजारीकरण, कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभएको हो ।

राष्ट्रियसभामा बोल्दै मन्त्री भुषालले “मल आउन ढिला हुन्छ भन्ने सबैलाई थाहा छ, तर मल आउन ढिला हुने प्रक्रियालाई छिटो बनाउन सबैको पहल हुनुपर्छ” भन्नुुहुँदै “आवश्यक मलको ७५ प्रतिशत बढीको टेण्डर भइसकेको छ, केही आउने क्रममा छ । यो हाम्रो हातमा मात्रै छैन, विदेशको यातायात व्यवस्थाले कति सहयोग गर्छ भन्ने कुरामा निर्भर गर्छ” भन्नुभयो । 

आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमाको चरणमा रहेकाले आफूले सांसदसँग सुझाव मागेको बताउनुभयो । जनताको जीवनसँग प्रत्यक्ष जोडिएको मन्त्रालयको नेतृत्व आफूले गरेको भन्दै उहाँले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रमा देखिएका समस्यमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“लामो समयदेखि समयमै मल आपूर्ति नहुने समस्या समाधान कसरी गर्न सकिएला ? ठूलो प्रश्न खडा भएको छ”, उहाँले भन्नुभयो, “मल अभावमा कृषियोग्य जमिन अहिले बाँझो छ, त्यसलाई पुनःखेतीयोग्य जमिनमा परिणत गर्नुपर्छ ।” उहाँले   कृषिजन्य उत्पादनलाई बजारसँग जोड्नु आवश्यक रहेको बताउनुभयो । 

मन्त्री भुसालले कृषिलाई उत्पादनमा आधारित उद्योगको निर्माण कसरी गर्ने, कृषिलाई कसरी आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरण गर्ने भन्ने विषय ज्वलन्त उठेको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सांसदको सुझाव आफूले चाहेको र प्राप्त सुझावका आधारमा मात्रै आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।