मोटर गुड्ने पक्कीपुल, फाइल तस्वीर
पर्वत— उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ जोड्ने गरी सेतीखोलामा तथा स्याङ्जा खण्डको १० किलोमिटर सडकमध्ये कालीगण्डकी गाउँपालिका–७ र गल्याङ –५ जोड्ने गरी आँधीखोलामा पुल निर्माण गरिएको हो ।

आयोजनाका इञ्जीनियर पवित्रमणि आचार्यका अनुसार आँधीखोलाको पुल निर्माण गर्न रायमाझी÷राजेश्वरी÷पिटीआर अधिकारी जेभीले वि सं २०७७ असार ३० गते सम्झौता गरेको थियो । पचास मिटर लम्बाइको उक्त पुल नौ करोड ६२ लाख ७९ हजार ९३.२९ लागतमा सम्पन्न भएको छ भने सेतीखोलामा निर्माण भएको ‘ट्रस्टब्रिज’ मुक्तिनाथ÷सुयान जेभीले पाँच करोड ८६ लाख ८२ हजार ९८.१६ को लागतमा पुलको निर्माण कार्यसम्पन्न भएको छ ।

यस्तै करिडोरअन्तर्गत पाल्पा–गुल्मी–बागलुङ खण्डको कालोपत्र गरिरहँदा पर्वत–स्याङ्जा खण्डमा निर्माणले तीव्रता पाएको छ । सो खण्डको ५३ किमीमा स्याङ्जा खण्डमध्ये मिर्मी–सेतीबेनी सडकको सात किमी महादेव खिम्ती÷अन्जना÷पराजुली जेभी लमजुङले निर्माणको जिम्मा लिएको थियो ।

करिडोरको पर्वत खण्डमा ४३ किमी र स्याङ्जामा १० किमी पर्दछ । पर्वत खण्डमा छ किमी कालोपत्र हुँदा १७ किमी कालोपत्रको अन्तिम तयारीमा रहेको छ । थप २० किमीको ठेक्का निकाल्ने तयारीमा रहेको इञ्जीनियर आचार्यले बताउनुभयो । करिडोरको पर्वत–स्याङ्जा खण्डको मिर्मी, सेतीबेनी, रानीपानी, कुर्घा, फलेवास, अर्मादी खण्डको सडक निर्माणले पर्वतको कालापानी भनेर चिनिने दक्षिण क्षेत्रका लाखौँ नागरिक लाभान्वित हुने भएका छन् । करिडोर हुँदै बुटवल, पाल्पा, नारायणगढ, मुस्ताङ र सदरमुकाम कुश्मा जाने यात्रुलाई समेत सहज हुने भएको छ ।

निर्माण कम्पनीले सडक चौडा गर्ने, नाली निर्माण, टेवा पर्खाल र कालोपत्रे गर्ने गरी विसं २०७७ भदौ १२ गते सझौता गरेको थियो । २१ करोड ९८ लाख छ हजार एक सय ९० रुपैयाँको लागतमा साढे दुई वर्षमा सक्ने गरी सम्झौता भएकामा ५० प्रतिशतमात्र काम भएको उहाँले बताउनुभयो ।

विस्फोट गरेर बाटो निर्माण गर्नुपर्ने हुँदा काममा केही ढिलाइ भएकाले एक वर्ष समय थपेर काम अगाडि बढाइएको उहाँले बताउनुभयो । यस्तै मिर्मी–सेतीबेनी सडककै तीन किमी काष्ठमण्डप÷कली÷मनकामना जेभीले आठ करोड ८६ लाख ८७ हजार सात सय ७१ मा रुपैयाँमा सम्झौता गरेको छ । वि सं २०७७ माघ ७ गते सडक चौडा, नाली निर्माण, टेवा पर्खाल र कालोपत्र गरी ३० महिनामा सक्ने गरी निर्माण कम्पनीले सम्झौता गरेकामा ६५ प्रतिशत काम सकेको आयोजनाले जनाएको छ ।