इटहरी — पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुनसरीको इनरुवामा अभिनन्दन गरिएको छ । राजावादी समूहले उहाँलाई सोमबार इनरुवामा अभिनन्दन गरेको हो । अभिनन्दन कार्यक्रमपछि सम्बोधन गर्दै उहाँले तन, मन, धन र पदमा लोभ्याएर सामाजिक संरचना कमजोर भएको बताउनुभयो ।


देशमा देखिएको समस्यालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उहाँले परिर्वतन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै परिणाम नदिने टिप्पणी गर्नुभयो । यस अघि भने प्रशासनले ‘श्री ५ महाराजधिराज’ लेखेको ब्यानर हटाएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएका प्रहरीले पूर्वराजा शाहलाई अभिनन्दन गरिने चोकचोकमा टाँसेको श्री ५ लेखिएका ब्यानरहरू हटाएको हो ।

‘पूर्वराजा भनेर लेखिएको ब्यानर भने हटाइएको होइन,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरीले भने, ‘श्री ५ महाराजधिराज’ भनेर लेखिएको ब्यानर चाहिं हटाइएको हो ।’ पछिल्लो केही महिनायता शाह झापामा बस्दै आउनुभएको छ । केही दिन अघि मात्रै उहाँ इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा सन्ध्याकालीन आरतीमा सहभागी हुनका लागि आउनुभएको थियो । (राजधानी द्रैनिकबाट)