कास्की — राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्रायथोलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ । ट्रायथोलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पहिलो पटक नेपाल ट्रायथोलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो । जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्वअध्यक्ष समुन देवकोटाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर(देवेन्द्र) केसी चयन हुनुभएको छ ।
यसैगरी समितिको सदस्यमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा रहनुभएको छ । नवगठित समितिका अध्यक्ष देवकोटाले गण्डकीमा ट्रायथोलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादनसहित प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘पोखरामा हरेक वर्ष ट्रायथोलनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गर्दछ तर प्राविधिक जनशक्ति, साधनन स्रोत सबै केन्द्रबाट ल्याउनुपर्ने अवस्था छ । अब पोखरामै हरेक कुराले सम्पन्न हुने गरी काम गर्नेछौँ । खेलको विस्तारमा लाग्नेछौँ ।’ नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको सङ्घीय संरचना र पछिल्लो पटक जारी गरिएको खेलकुद विकास ऐनअनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारीरुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सुन्दर ताल तलैया र खेलका लागि आवश्यक पूर्वाधारका कारण पोखरा ट्रायथोलन खेलको हब बन्न सक्ने प्रचुर सम्भावना रहेको उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘ट्रायथोलन विदेशमा समुद्रमा खेलिने गरिन्छ तर नेपालमा समुद्र नभए पनि फेवाताल, बेगनासजस्ता तालहरु भएकै कारण यहाँ प्रकृतिले समेत साथ दिएको छ । पोखरा ट्रायथोलनको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्ने धेरै सम्भावना देखिसकेका छन् ।’
सङ्घले पोखरामा बर्सेनि एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी सङ्घसक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाले ओलम्पिक खेलका रुपमा रहेको ट्रायथोलनको खेल विकासका लागि नियमित प्रतियोगिताको आवश्यकता औँल्याउनुभयो । प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । जिल्ला खेलकुदमा सुमन देवकोटाले नेतृत्व लिँदा खेल क्षेत्रले कोल्टे फेरेको स्मरण गर्दै गण्डकी प्रदेशमा ट्रायथोलन खेल विस्तारमा नवगठित समिति सक्षम हुने भनाइ राख्नुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताउनुभयो । नवनिर्वाचित सङ्घलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल सङ्घका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेपाल ट्रायथोलन सङ्घले पोखरामा बर्सेनि एशिया ट्रायथोलन कप र साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । यही चैत १८ र १९ गते यी दुवै प्रतियोगिताको तेस्रो संस्करण यहाँ सम्पन्न भए । सन् २०१९ मा सुरु भएको ट्रायथोलन एशिया कप सन् २०२० र २०२१ मा विश्वभर फैलिएको कोभिड महामारीका कारण हुन सकेन । सन् २०२२ देखी हुन यसलाई निरन्तरता दिइएको छ ।
प्रतियोगिताले पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ । प्रतियोगितामा बर्सेनि विदेशी खेलाडीको सहभागिता बढ्दै जाँदा यसले खेल पर्यटनमा सहयोग गरेको खेलकुदकर्मीको भनाइ छ ।