एनएनआइपिएको पत्रकार सम्मेलन तस्वीर


काठमाडौं — नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) १७ औं एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ कार्यक्रम गर्ने भएको हो । सङघले आज शनिबार पत्रकार सम्मेलन गर्दै एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत २० गते सोमबार खेलाडीहरुलाई सम्मान गर्न लागेको जानकारी गराएको हो ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले शनिबार पत्रकार सम्मेलन गरी अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानी सम्बन्धित सङ्घहरुले सिफारिस गरेका खेलाडीहरुलाई सम्मानित गरिने एनएनआइपिएका महासचिव शिवसुन्द्यर गोथेले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमका कारण वर्ष २०७८ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिता नभएको हुँदा एनएनआइपिएले जनाएको छ । यसवर्ष एनएनआइपिएले एनओसीमा आवद्ध सङ्घहरुको सिफारिसका आधारमा खेलाडीहरुलाई सम्मान गर्न लागेको जनाएको छ ।

विगतमा ऐतिहासिक, सांस्कृितक शहरमा आयोजना गरिँदै आएको अवार्ड यसपटक काठमाडौंको एलफ्ट होटेलमा हुने एनएनआइपिएले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

सङ्घका अनुसार विभिनन २७ खेलका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँसहित अवार्डले सम्मान गरिनेछ । यस्तै २७ उत्कृष्ट खेलाडीमध्येबाट एक जना पुरुष र एक जना महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडी घोषण गरी जनही एक लाख रुपियाँ प्रदान गरिने सङ्घले जनाएको छ ।

यसैगरी सङघले एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडीलाई ५० हजार रुपैयाँ, एक जना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मानसहित ३५ हजार रुपियाँ, एक जना खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कारसहित २५ हजार रुपियाँ र एक जना पारा खेलाडीलाई वर्ष उत्कृष्ट पारा खेलाडी अवार्डसँगै १५ हजार रुपियाँबाट सम्मान गर्नेभएको छ ।