खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ । तस्वीर: प्रदीपराज वन्त

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘स्पोर्टस् हब’ का रूपमा विकास गर्न सकिने बताउनुभएको छ । शनिबार बिहान राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुद पूर्वाधार नीति संवाद २०७९ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले खेलकुद क्षेत्रको विकास गर्न सकिने बताउनुभएको हो ।
सो अवसर प्रधानमन्त्रीले सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुहुँदै ‘पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरू सहभागी हुने जुन महत्त्व मैले यस क्षेत्रलाई दिएको छु । खेल क्षेत्रमा नेपाललाई विश्वकै हब बनाउन सकिन्छ भन्ने ठानेर नै दिएको हुँ’ भन्नुभयो ।

प्रधानमन्त्रीले थप्दै भन्नुभयो, ‘‘संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको छ । तर त्यसअनुसार सङ्घीय ऐनहरू बनिसकेका छैनन् । सरकारको ध्यान छिटोभन्दा छिटो सङ्घीय ऐनहरूलाई पूर्णता दिनेमा छ । सङ्घीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जान्छौँ ।’’

प्रधानमन्त्री प्रचण्डले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्छ। यसरी मात्र तल्लो तहदेखि नै खेलाडी उत्पादन र विकास गर्न सकिन्छ । पछिल्लो समय नेपालले खेलकुद प्रतियोगितामा जसरी सफलता हासिल गरेको छ, खेलाडी उत्पादन, पूर्वाधार विकास र खेलाडीहरूको वृत्तिविकासमा ध्यान दिन सकेमा नेपालले खेल क्षेत्रमा ठूलो फड्को मार्नेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग हुनेछ ।’’

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, बागमती प्रदेशका खेलकुदमन्त्री कुमारी मोक्तान, कोशी प्रदेशका खेलकुदमन्त्री बुद्धिकुमार राजभण्डारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले पूर्वाधार विकासमा तीन तहका सरकारको स्पष्ट नीति र सहकार्यमा जोड दिनुभएको थियो ।