साङ्केतिक फाइल तस्वीर


विदुर – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको टाटासुमो शुक्रबार अपराह्न दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सानोगोल्फुको ओरालोमा सुमो अनियन्त्रित भएर दुर्घटना हो ।

सो दुर्घटनामा परी अन्य १० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको थप उपचारका लागि काठमाडौं लगिएको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडांै जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँको अनुसार काठमाडौंको ट्रमा सेन्टरमा उपचारको क्रममा ४५ वर्षीया सानुकान्छी तामाङको निधन भएको हो । घटनास्थलमा दुप्चेश्वर गाँउपालिका–४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको मृत्यु भएको थियो । घाइते दशमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।