मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर


सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाउने निश्चित प्रायः भएको छ । मुख्यमन्त्री शर्माकै नेतृत्वको सरकारमा रहेको एमालेको आज शुक्रबार बसेको कर्णाली प्रदेशसभाको बैठकमा आफ्ना धारणा राख्दै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सरकारलाई विश्वासको मत दिने बताउनुभएको हो ।

नेता कँडेलले आफुहरु सत्ता पक्षमै रहेकोहुँदा सत्ता पक्षमा बसेर सरकारको विपक्षमा मत नदिने बताउँनुभयो । प्रदेशसभाको बैठकमा बोल्दै एमाले प्रदेश संसदीय दलका नेता कँडेल यदी आफुहरुले सरकारको विपक्षमा मातदान गर्ने भए हामीले त्यही अनुसारको तयारी थाल्ने थियौं भन्नुहुँदै हामी जुन अवस्था यहाँ छौं सोही अवस्थामा रहेर सरकारलाई विश्वासको मत दिनेछौं । यसमा हाम्रो कुनै दुविधा छैन ।’

यसैगरी मुख्यमन्त्रीको दावी गर्दै आएको नेपाली काङ्ग्रेस पनि अन्ततः मुख्यमन्त्री शर्मालाई नै विश्वासको मत दिने भएको छ । काङग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा दावी गर्दैगर्दा अन्तिम समयमा आएर मुख्यमन्त्री शर्मालाई नै विश्वासको मत दिने बताउनुभएको छ । आज बिहानसम्म पनि काङ्ग्रेसले विश्वासको मत दिने÷नदिनेमै अन्योलमा थियो ।

प्रदेशसभा बैठकमा बोल्दै नेता शाहीले ‘मैले हिजो पनि भनेको थिए । यदी सरकार र तपाईहरु सङ्कटमा हुनुहुन्छ भने म दलको हिसावले सकारात्मक रुपमा सोच्ने छु’ —भन्नुभयो ।

मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भनी प्रस्ताव राख्नुभएको थियो । मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत प्राप्त गर्नुहुने निश्चित भएको छ ।