उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, २४औं फ्लोरा एक्स्पोको शुभारम्भ तस्वीर


काठमाडौं — उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताउनुभएको छ । फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औं फ्लोरा एक्स्पोको शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र सुधारका लागि तत्काल पहल चाल्न आवश्यक रहेको भन्दै यसका लागि सरकारले आवश्यक गृहकार्य थालिसकेको बताउनुभएको हो ।

‘अहिलेको अर्थतन्त्रको अवस्थालाई अब हामी यथास्थितिमा राख्दैनौं । सरकारले तत्काल सुधारका प्रयास गर्नेछ । यसका लागि गम्भीर गृहकार्य पनि सुरु भइसकेको छ’, उपप्रधानमन्त्री श्रेष्ठल भन्नुभयो । अहिलेको राष्ट्रिय कार्यभार मुलुकलाई समृद्ध र विकासशील बनाउने रहेको बताउनुहुँदै उहाँले त्यसका लागि सरकार, निजी क्षेत्र, सहकारी र सामुदायिक क्षेत्रको उत्तिकै भूमिका रहने उल्लेख गर्नुभयो ।

‘तीनखम्बे अर्थ नीतिअनुसार सबै क्षेत्रलाई समेटर अघि बढ्न सरकार तयार छ । अहिलेको आर्थिक समस्यालाई सरकारले निजी क्षेत्रको मात्र समस्याका रुपमा लिएको छैन । यो समग्र देशकै समस्या हो । यसलाई सबैले मिलेरै समाधान गनुपर्छ’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रले उठाएका विषय र सरकारलाई दिइएका सुझाव समयमै कार्यान्वयन हुन नसक्दा अहिले देशको आर्थिक अवस्था खस्किँदै गएको बताउनुभयो । ‘निजी क्षेत्रले अहिलेको आर्थिक स्थिति आउँछ भनेर पहिल्यै अनुमान गरेको थियो । हामीले उठाएका विषय निजी क्षेत्रको मात्र नभएर मुलुकको अर्थतन्त्रमै दीर्घकालीनरुपमा प्रभाव पार्नसक्ने खालका थिए । तर निजी क्षेत्रले दिएका सुझाव सरकारले कार्यान्वयन गरेन’, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो ।

फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले अहिले नेपालमा कृषि क्षेत्रमा लगानी घट्दै जाँदा उत्पादन खुम्चिएको र त्यसले आयात बढ्न गएको बताउनुभयो । ‘बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न सकेका छैनन् । परियोजना धितो राखेर सजिलै परियोजना कर्जा पाउने र महिला उद्यमीका लागि पनि बिना धितो महिला उद्यमी कर्जा प्रवाह गरिनुपर्छ’, उहाँले भन्नुभयो । अहिले पुष्प व्यवसायमा सात अर्ब रुपैयाँ बराबरको लगानी र दुई अर्ब ३० करोड रुपैयाँको वार्षिक कारोबार रहेको जनाइएको छ । गत वर्षको तथ्याङ्कअनुसार भारतबाट ३६ अर्ब रुपैयाँ बराबरको पुष्प आयात भएको कार्यक्रमा जानकारी दिइएको थियो ।