राष्ट्रपति साई इङ वेन
न्युयोर्क — ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क पुग्नु भएको छ । स्वदेश फर्कनेक्रममा राष्ट्रपति वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ ।

ताइवानी नेताले सभामुख म्याकार्थीलाई भेटेमा त्यसले गम्भीर परिणाम निम्त्याउने वेइजिङले चेतावनी दिएको छ । सभामुखसँगको भेटवार्ताले गम्भीर टकराव निम्त्याउन सक्ने बेइजिङले बताउँदै आएको छ । 

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले विदेश भ्राणका क्रममा राष्ट्रपति साई अमेरिकामा ‘ट्रान्जिट’मा बस्नु र उहाँले सभामुखलाई भेट्नु सामान्य हो भन्दै विगतमा पनि धेरै ताइवानी नेता अमेरिका भएर तेस्रो मुलुक प्रस्थान गरेको बताएका छन् । 

राष्ट्रपति वेनको विदेश भ्रमणको सातौं अमेरिका ट्रान्जिट हो । सन् १९९४ यता ताइवानका बहालवाला राष्ट्रपतिले २९ पटक अमेरिकालाई ट्रान्जिट पारेर यात्रा गर्नुभएको छ । 

चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ । 

राष्ट्रपति वेन  र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै यदि उहाँले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी बुधबार बेइजिङले  दिएको थियो ।

सभामुख म्याकार्थीले पनि क्यालिफोर्नियामा राष्ट्रपति साईलाई भेट्ने बताउनुभएको छ । गत वर्ष पूर्वसभामुख न्यान्सी पिलोसीले ताइवानको भ्रमण गरेर राष्ट्रपति वेनलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले जनमुक्ति सेनालाई ताइवान टापु वरपर उतारेर अभूतपूर्व अभ्यास गरेको थियो । 

यसअघि पनि एक जना वरिष्ठ अमेरिकी  प्रशासकले ताइवानी राष्ट्रपति वेनको भ्रमणलाई बहाना बनाएर रोकटोकको अवाञ्छित क्रियाकलापमा नउत्रन चीनलाई अनुरोध गरेका छन् । राष्ट्रपति वेनको अमेरिका बसाईलाई लिएर बेइजिङलाई आक्रमक नबन्न र जबरजस्ती नगर्न आह्वान गर्दै उनले चीनको चेतावनीबाट अमेरिकी नीतिमा कुनै परिवर्तन नहुने स्पष्ट गरेका छन् ।