फाइल तस्वीर
पाँचथर — जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका चार जिल्लालाई जोड्ने मेची राजमार्गमा निरन्तर बाधा हुने गरेको छ । दुई सय ६८ किलोमिटरको राजमार्गका दर्जनौँ स्थानमा जमिन नअडिने समस्याका कारण विशेषत बर्खायाममा समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले इलामको माईखोला क्षेत्र तथा पाँचथरको पाङ्ग्रेभीर र भारपा घ्यापेमा जमिन नअडिने समस्या राजमार्गका लागि चुनौतीपूर्ण बनेकोे बताउनुभयो ।
उहाँले जमिन भासिने र पहिरो झर्ने स्थानमा सधैँ धुलो र हिलोको समस्याले सताउने गरेको जानकारी दिनुभयो । जमिन निरन्तर भासिने ठूलो क्षेत्र रहेको इलामको माईखोलामाथिका तीन स्थानमा सडक डिभिजन कार्यालय इलामले आर्थिक वर्ष २०७१÷०७२ मा ‘रक एन्करिङ’ प्रविधिबाट सडक अड्याउने प्रयास गरेको थियो ।
छ करोड रुपैयाँको लागतमा उक्त प्रविधिबाट सडक अड्याउने प्रयास गरिए पनि सो उपायले एक वर्षसम्म समेत काम नगरेको स्थानीयवासीको भनाइ छ । भिरालो बाटो निरन्तर भासिने हुनाले यहाँको यात्रा चुनौतीपूर्ण हुने गरेको छ । इलाममा माइखोला–भञ्ज्याङको छ किलोमिटर सडक निरन्तर भासिने गरेको छ । यस स्थानमा १० वर्षमा करिब तीन मिटर सडक भासिएको पाइएको छ । यो स्थान जोखिमपूर्ण देखिएपछि खुदुनाबारी–दानाबारी–राकसे–बेलासे–भञ्ज्याङ सडक वैकल्पिक मार्गका रुपमा उपयोग गर्न सकिने बनेको छ । धेरैले उक्त सडकको स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको घ्यापेमा माइखोलामा जस्तै मेची राजमार्गको सडक भासिने समस्या छ । स्थानीयवासी राजेन्द्रप्रसाद काफ्लेका अनुसार यहाँ राजमार्ग विस्तार हुनुअघि नै जमिन भित्रबाटै सर्ने गथ्र्यो । सर्ने जमिनमै बाटो बनेपछि सडक नअड्एिको काफ्लेको भनाइ छ । “सडक भन्दामुनि जमिनमा ठूलो भौडी छ । बर्सेनि माथिबाट जमिन सर्दै जाँदा सडक भासिन्छ”, उहाँले भन्नुभयो, “घ्यापे दीर्घकालीन समस्या बनेको छ ।”
यस स्थानमा २०४२ सालमा सडक विस्तार भई २०४३ सालबाट सवारी साधन चल्न थालेका थिए । सडक अड्याउन सडकको माथिल्लो भागमा पाइप लगाइ पानी नालीमा झारेर सडक अड्याउने प्रयास गरिए पनि सफल हुनसकेको छैन् । उक्त स्थानको विकल्पका लागि गोलेडाँडा घुम्तीबाट सल्लरी जोड्ने वैकल्पिक बाटो निर्माण भएको छ ।
यस्तै वैकल्पिक सडककै लागि मझौले घुम्ती–चिवाडाँडा हुँदै मानेडाँडा जोड्ने बाटोको ट्र्याक पनि बनेको काफ्लेको भनाइ छ । “यी दुवै सडक मर्मत सम्हार गरे चलाउन सकिन्छ”, उहाँले भन्नुभयो । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पाङ्ग्रेभीर क्षेत्रमा सडक मर्मत गरिरहेका निर्माण व्यवसायीले सडक भित्तामा रहेको चट्टान कटान गराएपछि पहिरो झर्न थाल्यो । व्यावसायीले आफूखुसी ढुङ्गा उत्खनन गर्दा झरेको पहिरोका कारण चार वर्षअघि एक साता राजमार्ग नै अवरुद्ध बनेको थियो । एक साताको प्रयासमा पहिरो पन्छाएर सडक सुचारु त भयो, तर दीर्घकालीन समस्या निम्तियो ।
पाङ्ग्रेभीरमा सडकमाथिको ठूलो भाग लच्किएर झरेको छ । तर लच्किएको सबै जमिन पहिरो बनेर बगेको छैन् । वर्षा हुनासाथ ढुङ्गामाटो सडकमा झर्ने गर्दछ । सडक डिभिजन कार्यालय इलामले कङ्क्रिट पर्खाल लगाएर पहिरो रोक्न खोजे पनि ठूलो भाग लच्किएकाले पहिरो सडकमा झर्ने गरेको छ । पाङ्ग्रेभीरको पहिरो दीर्घकालीन समस्या बन्ने देखिएपछि सो समय फाल्गुनन्द गाउँपालिका र प्रदेश सरकारको लगानीमा गुम्बाडाँडा–निबुखोला–राँकेबजार वैकल्पिक सडक निर्माण थालिएको थियो ।
उक्त सडकको ट्र्याक खोल्ने काम सकिएपछि स्तरोन्नतिमा कुनै निकायले ध्यान दिएनन् । जसकारण यो सडकमा सवारी सञ्चालन हुन सक्दैनन् । पहिरो झरेर पाङ्ग्रेभीर अवरुद्ध बने राजमार्ग नै ठप्प हुने अवस्था रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पोखरेलको भनाइ छ । “यी समस्याबारे सरोकारवालाले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो । मेची राजमार्ग विसं २०२९ मा खाद्यान्न अनुदानमा निर्माण सुरु भएको थियो । २०३३ सालबाट भने सरकारी बजेटमै सडक निर्माण हुनथाल्यो । ताप्लेजुङ, पाँचथर र इलामको ‘लाइफलाइन’का रुपमा रहेको सडक अहिले निकै व्यस्त हुने गरेको छ ।
यहाँ यात्रुबाहाक सवारीका साधनको चाप दैनिक रुपमा बढिरहेको छ । यातायातको सुगमतापछि ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम दर्शन गर्न दैनिक हजारौँको सङ्ख्याका तीर्थयात्रीले यो सडक प्रयोग गर्ने गर्दछन् । यस्तै खाद्यान्न, मालसामान लगायत सामग्रीको ढुवानी तथा स्थानीय कृषि उपजको निकासीमा समेत यो राजमार्ग महत्वपूर्ण रहेको छ ।
तर जमिन नअडिने समस्याले राजमार्गमा प्रायः हैरानी ब्यहोर्नुपर्ने अवस्था रहेको छ । झापाको चारआलीदेखि ताप्लेजुङको फुङलिङसम्म सडकका रहेका सयौँं खाल्डाखुल्डी र अवरोधले यात्रुलाई समस्या हुने गरेको छ । राजमार्गमा निरन्तर बाधा उत्पन्न हुने भएपछि विकल्पका रुपमा निर्माणाधीन तमोर कोरिडोर सडको प्रयोग हुन थालेको छ । यद्यपि यस कोरिडोरले मेची राजमार्गजस्तै ठूलो जनघनत्वलाई समेट्न सक्ने अवस्था नहुनाले मेची राजमार्ग विकल्पविहीन सडक बनेको छ ।