साङ्केतिक तस्वीर
बुटवल — सेवाग्राहीबाट घुसलिंदा गर्दा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता रामकृष्ण अधिकारीका अनुसार गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भरले ५० हजार रुपैयाँ घुस लिंदैगर्दा उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको हो ।

आयोगका प्रवक्ता अधिकारीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा घुसवातको रकमसहित तीनैजनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । पक्राउ परेका तीन जनामाथि थप अनुसन्धान भइरहेको आयोगको बुटवल कार्यालयले जनाएको छ ।