मुगुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव योगेश भट्टराई
मुगु — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ष्ट पार्टी एमाले सचिव योगेश भट्टराईले मुगु पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मुगुले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई धोकेवाजको संज्ञा दिनुभएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै सहमति विपरीत हिडेर प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिएको जिकिर गर्नुभयो ।

सचिव भट्टराईले भन्नुभयो ‘गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बनाउने सहमति भए पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेलाई धोका दिनुभयो ।’