फाइल तस्वीर
विराटनगर — प्रदेश नामाकरणको विरोध गर्दै आएका आन्दोलनकारी पहिचानवादी पक्षधर र सुरक्षाकर्मीबीच झडप भएको छ । आज मङ्गलबार आन्दोलनकारी पहिचानवादी पक्षधर र प्रहरीबीच झडप भएको हो ।

होटल बिगमा आयोजित दीगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तक्रियात्मक कार्यशालामा सहभागी आएका सांसदलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा २० जनाभन्दा बढि घाइते भएका छन् । कार्यशालामा सांसदहरू होटलमा प्रवेश गर्न नसक्ने अवस्था आएपछि उक्त कार्यक्रम नै स्थगित भएको छ । युएनडिपीको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने भनिएको उत्तल कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटल नेपालईरिकामा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने सूचना आएपछि उक्त कार्यक्रमको स्थान परिवर्तन गरी विराटनगरकै होटल बिगमा सारिएको थियो ।

सुरक्षार्थ खटिएका प्रहरीको घेरा तोडेर होटलभित्र प्रवेश गर्ने प्रयास गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । त्यहाँको उत्तेजित परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस हान्नुको सार्थ पानीको फोहोरासमेत प्रहार गरेको थियो । पहिचानवादी आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गर्नथालेपछि प्रहरी कडाकारवाही गर्न उत्रिनुपरेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दीपक पोखरेलले बताउनुभयो । एसपी पोखरेलका अनुसार झडपका कारण सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन÷तीन जवान घाइते भएका छन् । आन्दोलनकारीतर्फ पनि ६ जना घाइते भएको बताइएको छ ।

अहिले त्यहाँको स्थिति शान्त भएको प्रहरीले जनाएको छ । झडपपछि आन्दोलनकारी फर्किएका छन् । झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्रीका साथै सबै सांसदहरूलाई आमन्त्रण गरिएको थियो ।

नामाङ्कन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेज गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने माग गर्दै आएका छन् । यसअघि चैत ५ गतेको विरोधआन्दोलनमा गम्भीर घाइते भएका एक व्यक्तिको उपचारकैक्रममा निधन भएको थियो ।