अन्तरक्रिया कार्यक्रम, तस्वीरः नेपाल चेम्बर

काठमाडौं — नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकहरुको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीका साथै ऋृणीहरु ठूलो समस्यामा परेको बताउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसँग भएको भेटवार्ताका क्रममा अध्यक्ष मल्लले यस्तो धारणा राख्नुभएको हो ।


चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग चेम्बरका अध्यक्ष आग्रह गर्नुभएको छ । बैंक वित्तीय संस्थामा चर्को ब्याजदरका कारण समग्र अर्थतन्त्रलाई नै जोखिममा पारेको भन्दै अध्यक्ष मल्लले भन्नुभयो, ‘पछिल्लो समय उच्च ब्याजदरले उद्योगी व्यवसायी एवम् समग्र ऋणीहरु निकै मर्कामा परेका छन् । ऋण लिएर व्यवसायमा लगानी गन सक्ने अवस्था छैन । यसअघि ऋण लिएकाहरुले समेत सावाँ ब्याज भुक्तानी गर्न सक्ने अवस्था छैन । यसले समग्र व्यवसायलाई नै जोखिमतर्फ धकेलिरहेको छ ।’

पछिल्लो समयमा देखिएको आर्थिक मन्दीको प्रभाव राष्ट्रिय अर्थतन्त्रमा दीर्घकालसम्म पर्ने भन्दै चेम्बर अध्यक्ष मल्लले सांसदहरुको ध्यानाकर्षण गराउँदै ब्याजदर नियन्त्रणसँगै अर्थतन्त्रका अन्य चुनौतीहरुलाई पनि सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष मल्लले सरकारले पुँजिगत खर्च गर्न नसकेको भन्दै सार्वजनिक ऋण कुल ग्रार्हस्त उत्पादन जीडीपीको ४२ प्रतिशत हाराहरीमा पुगिसकेको छ । आन्तरिक उत्पादन ठप्प हुँदा व्यापार घाटा आकासिएको छ । रोजगारी सिर्जना हुन सकेको छैन । जनताका प्रतिनिधिहरुले संसदमा यस्ता विषयलाई उठान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् सुमोना श्रेष्ठले मुलुकको आर्थिक व्यवस्थालाई राजनीतिको छायाँबाट मुक्त बनाउनुपर्नेमा जोड दिंदै आफुहरुले यो विषयमा संसदमा पटक–पटक कुरा उठाएर सरकारको ध्यानाकर्षण गराएकोे बताउनुभयो । अर्थतन्त्रसँग जोडिएका कतिपय ऐन नियमहरु पुरानो भएकाले पनि परिणाम मुखी काम गर्न समस्या भएको सांसद श्रेष्ठको भनाइ थियो ।

चेम्बरले आज जमलस्थित आफ्नै कार्यालय भवनमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चेम्बरका पदाधिकारी र रास्वपाका सांसदहरुबीच छलफल भएको थियो ।