साङ्केतिक तस्वीर
फुङ्लिङ — ताप्लेजुङ जिल्लाको कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्युभएको छ । भरुवा बन्दुकको छर्रा लागि आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक कार्कीका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको हो । घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।