फाइल तस्वीर
काठमाडौं — सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर एसोसिएसन’का अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिनुभएको हो ।

प्रतियोगितामा ३० प्रोफेसनल र आठ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा साविक विजेता भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, रवि खड्का, रामे मगर, सुवास तामाङ, सद्भाव आचार्यलगायत खेलाडी सहभागी हुने बताइएको छ । नेपालका नम्बर एक खेलाडी शुक्रबहादुर राई हाल भारतमा रहेका कारण प्रतियोगितामा सहभगिता जनाउने छैनन् ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ६५ हजार रुपैयाँ, तेस्रोले ४६ हजार रुपैयाँ, चौथोले ३८ हजार रुपैयाँ, पाँचौँले ३४ हजार रुपैयाँ, छैटौँले ३० हजार रुपैयाँ, सातौँले २७ हजार रुपैयाँ, आठौँले २४ हजार रुपैयाँ, नवौँले २२ हजार रुपैयाँ तथा दशौँ स्थान हासिल गर्ने खेलाडीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिन १८ होलको खेल हुनेछ ।