फाइल तस्वीर
विराटनगर — कोशी प्रदेश सरकारले पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।

कोशी प्रदेश नामाकरणको विरोधको विरोध प्रदर्शनका क्रममा टाउकोमा लाठी लागी गम्भीर घाइते हुनुभएका पदमबहादुर लिम्बू लाजेहाङका उपचार गरिरहेको अवस्थामा पदमबहादुर लिम्बू लाजेहाङकोे निधन भएको थियो । प्रदेशको नाम पहिचान झल्किने गरी नामाकरण गर्नुपर्ने भन्दै विभिन्न जातीय पहिचान भएका सामाजिक संघसंस्थाहरुको संयुक्त विरोध प्रदर्शनका क्रममा लाजेहाङ घाइते हुनुभएको थियो ।

चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लंघन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले सामानय बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्यास र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो ।

सोही घटनामा घाइते हुनुभएका लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । उक्त घटनामा लाजेहाङ प्रहरी र आन्दोलनकारी मध्ये कुन पक्षको प्रहारबाट घाइते हुनुभएको हो त्यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेश सरकारले लिम्बूको निधनप्रति गहिरो व्यक्त गर्दै राहत प्रदान गर्ने निर्णय गरेको हो । साथै, मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारले उक्त घटना छानविन गर्न गठन गरेको छानविन समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।