राँके–रवि–भेडेटार सडक, फाइल तस्वीर
फिदिम — पूर्वी नेपालका चार जिल्लालाई जोड्ने राँके–रवि–भेडेटार सडक निर्माणको काम २५ प्रतिशतमात्रै सकिएको छ । उक्त सडक निर्माणको जिम्मा लिएको भाारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ५० महिनाको अवधिमा जमा २५ प्रतिशतमात्रै काम गरेको हो ।

चौध महिनाअघि निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने, पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने कार्य भइरहेको छ । सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलका अनुसार निर्माण कार्यमा करिब चार वर्षको अवधिमा १८ प्रतिशत भौतिक प्रगति भएको थियो । पछिल्ला तीन महिनामा निर्माण कम्पनीले थप सात प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

ठेक्का पाएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले पछिल्लो समय नेपाली निर्माण कम्पनीको सहायता लिई निर्माण अघि बढाएपछि थप प्रगति देखिएको हो । अहिले उक्त सडकको पाँचथर र इलाममा पर्ने राँके–रवि खण्डको २८ किलोमिटरमा सडकको ट्र्याक विस्तार गर्ने तथा पर्खाल हाल्ने कार्य भइरहेको छ । यस्तै धनकुटामा पर्ने छ नम्बर बुधबारे बजार–भेडेटार खण्डमा ट्र्याक विस्तारको कार्य सम्पन्न भई कालोपत्रका लागि ‘बेस’ हाल्ने कार्य सुरु भएको डिभिजनका प्रमुख पोखरेलले वताउनुभयो ।

सडकको १०१ किलोमिटरमध्ये सन् २०२३ भित्र ५० किलोमिटर कालोपत्र सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता रहेको उहाँको भनाइ छ । “निर्माण कम्पनीले ५० किलोमिटर कालोपत्रे गर्ने भने पनि अहिलेको रफ्तार कायम रहे सन् २०२३ मा निर्माण कार्यमा न्यूनतम ४० प्रतिशत प्रगति हुने हामीले अनुमान गरेका छौँ”, डिभिजन प्रमुख पोखरेलले भन्नुभयो, “ठूलो प्याकेज भएका कारण अहिले जसरी नै स्थानीय निर्माण व्यवसायीको साथ लिए लक्ष्य पूरा हुनसक्ने देखिन्छ ।”

पचास महिनाको अवधिमा यो सडक निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ । सन् २०१८ नोभेम्बर १ मा तीन वर्षअर्थात् २०२१ डिसेम्बर २ भित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग सम्झौता भएको थियो । निर्धारित अवधिमा निर्माण कम्पनीले करिब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको थियो । निर्माण कम्पनीले निर्माण कार्यका लागि प¥याप्त जनशक्ति र उपकरणको परिचालन गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन भने अवरोध हटाउन आवश्यक समन्वयसमेत हुन सकेको थिएन ।

भारत सरकारको सहुलीयतपूर्ण ऋण सहयोगमा सडक निर्माण भइरहेका कारणका निर्माणका लागि खरिद हुने सम्पूर्ण सामग्रीको ५१ प्रतिशत सामग्री भारतबाट आयात गर्नुपर्ने प्रावधान छ । यसकारण निर्माण कम्पनीले सहजै निर्माण सामग्री आयोजनास्थलसम्म ल्याउन सकेको छैन । सामग्री खरिदसहितका प्रावधानलाई सहज बनाउन नेपाल सरकारले पहल गरेको भनिए पनि खुकुलो व्यवस्था हुन सकेको छैन् ।

सडक क्षेत्रमा पर्ने रुख कटानी, निजी तथा सामुदायिक संरचना हटाउने, विद्युत्का पोल सार्नेजस्ता कार्य दुई वर्षसम्म हुन नसक्दा सडक विस्तार कार्य अवरुद्धजस्तै भएको थियो । यस्तै कोभिड–१९ को प्रकोपका कारणसमेत निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो । तेस्रो पटक म्याद थप गरी सन् २०२४ अगस्ट २८ सम्म पु¥याइएको डिभिजन प्रमुख पोखरेल बताउनुहुन्छ । “निर्माण कार्य अघि बढाउन अब कुनै समस्या नरहेकाले निर्धारित मितिमा काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता छ”, उहाँले भन्नुभयो, “तर हाम्रो आँकलन चाहिँ सो समयसम्ममा न्यूनतम ७० प्रतिशत काम हुनेछ ।”

इलाम, पाँचथर, धनकुटा, मोरङ जिल्लालाई समेट्ने यो सडक भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋण सहयोगमा निर्माण थालिएको थियो । भारतको एक्जिम बैंक अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरी कूल रु तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार पाँच सय ७२ को लागतमा सडक कालोपत्रको काम अघि बढाइएको थियो । सात मिटर चौडा, दुवैतर्फ एक÷एक मिटर नालीसहित नौ मिटरको सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।