विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोस, फाइल तस्वीर
काठमाडौं — विश्व बैंकले नेपाललाई शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न १२ करोड अमेरिकी डलर (करिव १६ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ । विश्व बैंक कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न यो रकम बराबरको अनुदान दिने निर्णय गरेको हो ।

यो सहयोग कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा निहित रहने छ । नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्वपूर्ण रहेको भनेका छन् ।

नयाँ सङ्घीय राज्यको महत्वकाङ्क्षा पुरा गर्न शिक्षाको गुणस्तर र समतामूलक पहुँच बढाउने नेपाल सरकारको दृष्टिकोणलाई समेत समर्थन गर्ने विश्व बैंकको भनाइ छ । यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयका कारण भएको हानीलाई सम्बोधन गर्न, उपयुक्त कक्षा कोठा निर्माण तथा डिजिटल शिक्षणलाई सुदृढ गर्न प्रयोग हुने समेत विश्व बैंकले जनाएको छ । यो अनुदानलाई छात्रवृत्ति कार्यक्रममा समेत प्रयोग गरिने छ ।