मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताउनुभएको छ । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा बोल्दै मुख्यमन्त्री जमरकट्टेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

आज बसेको प्रदेशसभाको बैठकमा उहाँले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने प्रस्तावमाथि छलफलमा जनताप्रति जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने क्रममा सरकारलाई दिनुभएको सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

मुख्यमन्त्री जमरकट्टेलले जनतालाई संविधान र प्रजातन्त्रप्रति दलको नेतृत्वबाट भएका कमीकमजोरीको कारणले निराशा पैदा भएकोमा चिन्ता व्यक्त गर्नुहुँदै प्रदेशको भौतिक पूर्वाधार, आर्थिक समृद्धि र जनतालाई शान्ति सुरक्षा र अमनचैन कायम गर्न सरकारले सबै राजनीतिक दलसँग सहकार्य र समन्वयका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले सरकारले आर्थिक मितव्ययिताका प्रशासनिक खर्चमा कटौती गरेको बताउनुभयो । उहाँले प्रदेशका विभिन्न अस्पतालमा दक्ष चिकित्सक, स्वास्थ्यकर्मी, उपकरण उपलब्ध गराइएको र उपचार सेवालाई अझ प्रभावकारी बनाउन घुम्ती चिकित्सक टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सरकारले दुई महिना सात दिनमा कृषि उत्पादन र पशुपंक्षी पालनमा कृषकलाई परिचालन गर्न गुरुयोजना तर्जूमा गरी कार्यान्वयन गरेको बताउनुभयो । मुलुकमा स्थिर राजनीतिक अवस्था सिर्जना गर्न सके जनतालाई प्रजातन्त्रप्रति विश्वास बढ्ने धारणा उहाँको भनाइ छ ।

वर्तमान अवस्थामा मुलुकमा राजनीतिक तीव्र धु्रवीकरणको कारणले आफ्नो पार्टीले सहमतिको आधारमा मुख्यमन्त्री जम्कट्टेलको नेतृत्वमा मन्त्रिपरिषद्मा समावेश भएको उहाँले बताउनुभयो । उहाँले बागमती प्रदेशमा नेकपा (एमाले)ले सरकारबाट बाहिरिने र प्रतिपक्षमा बस्ने बताउनुभयो । उहाँले एमालेले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने स्पष्ट पार्नुभयो ।

बैठकमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेताबहादुर सिंह लामाले प्रदेशमा स्थायी, शान्ति, आर्थिक समृद्धिका आफ्नो पार्टीले विश्वासको मत दिने र सरकारमा सहभागी हुने भनाइ व्यक्त गर्नुभयो ।

उहाँले आफू सरकारमा जाँदा बाहिरी हस्तक्षेप नहुने र सरकारबाट बाहिरिदा स्वदेशी र विदेशीको चलखेल बढेको भनेर टिका टिप्पणी हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । उहाँले प्रमुख राजनीतिक दलहरु आपसमा सहकार्य र समन्वयका आधारमा राष्ट्रलाई दीगो शान्ति र स्वाधिनताको संवद्र्धन गर्न एकजुट हुन जरुरी रहेको बताउनुभयो ।

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले मुलुकमा राजनीतिक स्थायित्व र स्वाधिनताको रक्षाका लागि प्रमुख दलको विचार विमर्शभन्दा सत्ताको प्रतिस्पर्धाको होडबाजीमा संलग्न भएकोमा चिन्ता व्यक्त गर्नुभयो । प्रदेशमा सरकारको परिवर्तनले गर्दा जनतामा निराशा छाएको उहाँको भनाइ छ ।

उहाँले वर्तमान सरकारले दलगत स्वार्थभन्दा माथि उठेर प्रदेशको समष्टिगत विकास र जनताप्रति जवाफदेही बन्न सक्नुपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टी विश्वासको मतका सम्बन्धमा तटस्थ रहनेसमेत जानकारी गराउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्रराज गोर्साइँले दलहरुले आफ्नो चरित्र र व्यवहारमा सुधार गर्न नसकेसम्म जनताप्रति जवाफदेही बन्न नसक्ने बताउनुभयो । वर्तमान प्रदेश सरकारले आफ्नो स्पष्ट कार्यदिशा सार्वजनिक गर्न नसक्दा राजनीतिक अन्यौलता बढेकोमा भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का नेता डा राजेन्द्रमान श्रेष्ठले राजनीतिक दलको नेतृत्वमा धैर्यता, शालिनताको अभावले गर्दा राजनीतिक स्थायित्वमा संकट आएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले अब आउने नयाँ मन्त्रिपरिषद्ले नीतिगत साझा कार्यक्रमको खाका तयार पारेर कार्य सम्पादन गर्नेतर्फ क्रियाशील हुनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो पार्टीले मुख्यमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा मतदान गर्ने बताउनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २५ मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धनको समर्थनमा मुख्यमन्त्रीको नियुक्त हुनुभएको थियो । उहाँले पुस २६ मा मन्त्रिपरिषद्मा ३ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो । साथै गत माघ ३ मा विश्वासको मत प्राप्त गरिसके लगत्तै एमाले, माओवादी केन्द्र र राप्रपाको मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गरिएको थियो ।

केही हप्ताअघि राप्रपाको तर्फबाट मन्त्रिपरिषद्मा रहनुभएका तीन मन्त्रीहरुले राजीनामा दिनुभएको थियो । साथै राप्रपाले सरकारले दिएको समर्थन समेत फिर्ता लिएको थियो ।