फाइल तस्वीर
कास्की — सरकारलाई दिएको समर्थन फिर्ता लिंदै गण्डकी प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाहिरिने भएको छ गण्डकी प्रदेश माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट एमाले नेता अधिकारी नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने हुनुभएको छ । माओवादीबाट दलका नेता चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहनुभएको थियो ।

यसअघि बिहीबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई निर्देशन दिनुभएको थियो । माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ ।

गण्डकी प्रदेशसभमा एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

केन्द्रीय गठबन्धनको समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्तासमीकरण बदलिने अवस्था आएको छ । बदलिएको गठबन्धनको समीकरणबाट अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ । प्रदेशसभामा २७ सदस्यसहित सबैभन्दा ठूलो दल रहेको नेपाली काङग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । साठी सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । काङग्रेस र माओवादी मिल्दा मात्रै पनि सरकारलाई सहज बहुमत पुग्छ । यी दुई पार्टीको मात्रै ३५ मत रहनेछ । सरकारलाई आवश्यक गर्ने बहुमतको सङ्ख्या ३१ मात्रै रहेको छ ।

एमाले नेतृत्वको सरकारबाट बाहिरिए लगतै नयाँ सरकारको गृहकार्य सुरु भएको छ । नयाँ बन्ने सरकारको नेतृत्वमा काङ्ग्रेस र माओवादी दुवै दलले दावी गर्दै आएका छन् । आलोपालो मुख्यमन्त्री बन्ने र कुन दलले पहिलो चरणको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रको निर्णयमा भर पर्नेछ ।