फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाहिरिएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका सबै चारैजनाको संयुक्त राजीनामा मुख्यमन्त्री शालिकराम जमरकट्टेललाई बुझाउँदै सरकारबाट बाहिरिएको जानकारी गराउनुभएको हो ।

नेकपा (एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल हुनुहुन्छ ।

प्रदेशसभामा बोल्दै बागमती प्रदेश एमाले संसदीय दलका नेता थपलियाले निर्वाचनपश्चात पाँचदलीय चुनावी गठबन्धन, सरकार गठन गर्न असफल रही सरकार गठनमा अन्योल सिर्जना भएको तत्कालीन अवस्थामा एमालेले बागमती प्रदेशमा मुख्यमन्त्री शालिकाराम जम्कट्टेलको नेतृत्वमा सरकार बनाउन अभिभावकीय र नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।

उहाँले हाल राष्ट्रियरूपमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र माओवादी केन्द्र अर्को फरक राजनीतिक गठबन्धन बनाउने दिशातर्फ उन्मुख भएको अवस्थामा जम्कट्टेल नेतृत्वको सरकारमा सहभागी भइरहन नसकिने अवस्थाका कारण आजैका मितिदेखि लागू हुनेगरी संयुक्त राजीनामा दिएको घोषणा गर्नुभयो ।

यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले आजै प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिनका लागि आह्वान गरिएको बैठक जारी छ । मुख्यमन्त्री जमरकट्टेललाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रसहित नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादीलगायतका दलहरुको समर्थन रहेको छ । मुख्यमन्त्री जमरकट्टेलको पक्षमा ६१ जना सांसदहरुको समर्थन हुने देखिन्छ । कुल ११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मतका लागि कम्तिमा ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ ।