फाइल तस्वीर
दमौली — तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । व्यास नगरपालिकामा मेयर वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी एकीकरण आयोजनालाई कार्यान्वयन चरणमा प्रारम्भ गर्नुभएको हो ।
बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको छ । बैरेनी क्षेत्रको करिब एक हजार पाँच सय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिने नगर प्रमुख न्यौपानेले जानकारी गराउनुभयो ।

आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ । व्यास नगरपालिका उपभोक्ताको लगानी र नगर विकास कोषको ऋण सहयोगमा आयोजना सम्पन्न गरिने नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । आयोजनाले बैरेनीवासीको अवस्थामा परिवर्तन ल्याउने उहाँको भनाइ छ । “आयोजनाले बैरेनीवासीलाई समृद्ध बताउँछ, आर्थिकरुपमा सबल बनाउँछ”, न्यौपानेले भन्नुभयो ।

दमौली बजारमा बसोबासका लागि ठाउँ अभाव भन्दै नगर प्रमुख न्यौपानेले अबको गन्तव्य बैरेनी बन्ने बताउनुभयो । “यसले व्यवस्थित सहरको रुप लिनेछ”, उहाँले भन्नुभयो, “सबै एकताबद्ध भएर सहकार्य र हातेमालो गरी आयोजना सफल बनाऔँ ।”

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्तगर्नुभयो । भूकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष डा आमोदमणि दीक्षित र विज्ञ सूर्यभक्त सांघाक्षेले आयोजना बैरेनीवासीको हीतमा हुने बताउनुभयो ।

आयोजनाअन्तर्गत प्रथम चरणमा दुई सय ६१ रोपनी क्षेत्रफल समेट्ने एकाइ प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्र मूलले जानकारी दिनुभयो । प्रथम चरणमा दुई सय ५० उपभोक्ता लाभान्वित हुनेछन् । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माण गरिनेछ । उक्त कार्यका लागि ८५ लाख रुपैयाँ तथा दोस्रो चरणमा बाटो, ढल, कलभर्ट तथा अन्य संरचना निर्माणका लागि १२ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको एकाइ प्रमुख मुलले जानकारी दिनुभयो ।

नगर विकास कोषसँग भएको सम्झौताबमोजिम कूल आयोजना खर्चको ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण प्रवाह हुने तथा बाँकी ३० प्रतिशत रकम व्यास नगरपालिले बेहोर्ने छ भने सो ऋण जग्गाधनीले पूर्वाधार निर्माणका लागि गरेको योगदानबाट छुट्याइएको ‘सेल्स प्लट’ बिक्री गरी चुक्ता गरिने बताइएको छ ।