सुर्खेत — कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त हुनुभएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य हुनुहुन्थ्यो । शाहीले जवाहरलालनेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिलको अध्ययन सक्नुभएको छ ।

शाही विश्व प्रजातान्त्रिक युवा सङ्घका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक पनि रहनुभएको थियो ।
नेकपा एमाले परित्याग गर्नुभएका शाहीलाई नेकपा (माओवादी केन्द्र)ले गत ४ मङ्सिरमा सम्पन्न निर्वाचनमा दैलेख क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको टिकट दिएको थियो । निर्वाचनमा झिनो मतले पराजित हुनुभएका शाहीलाई प्रदेश सरकारले प्रदेश योजना आयोगको जिम्मेवारी दिएको हो ।

प्रदेश नीति तथा योजना आयोगमा ६ सदस्यीय हुन्छ, जसमा अध्यक्ष मुख्यमन्त्री र पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था छ । आयोगमा दुईजना सदस्य पछि नियुक्त गरिने सरकारका प्रवक्ता जिसीले जानकारी दिनुभयो ।