पत्रपत्रिकाबाट
काठमाडौं — नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नु परेको पाइएको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुरमा भर्ना भएका तथा डिस्चार्ज भएका बिरामीमा गरिएको अध्ययनअनुसार क्यान्सर उपचारमा घरजग्गा बेच्नुपर्ने अवस्था देखाएको हो । अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा एक्सन नेपालले गरेको अनुसन्धानमा १६ प्रतिशतले घरजग्गा बेचेर क्यान्सर रोगको उपचार गर्ने गरेको पाइएको छ ।
यसैगरी बढी खर्च गर्ने क्षमता भएका बिरामीले कम खर्च गर्ने क्षमता भएका बिरामीको तुलनामा झन्डै चार गुणा बढी उपचारमा खर्च गर्ने गरेको पाइएको थियो । प्रत्यक्ष मेडिकल खर्चअन्तर्गत सबैभन्दा बढी खर्च केमोथेरापीमा हुने गरेको पाइएको थियो । केमोथेरापीमा २८ प्रतिशत खर्च रहेको छ ।
अनुसन्धानअनुसार एक जना क्यान्सर बिरामीले रोगको पहिचान र उपचारमा नौ लाख ८१ हजार ३७० रुपियाँ खर्चने गरेका छन् । अध्ययनअनुसार नेपालमा क्यान्सर रोगको उपचार गराउनेमध्ये ४३ प्रतिशत बिरामीले आफ्नो प्रमुख आय कृषि भएको बताएका छन् ।
६० प्रतिशत बिरामीले आफन्तबाट ऋण लिई खर्च बेहोर्ने गरेको पाइयो । एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले मेडिकल खर्च, क्यान्सर पत्ता लगाउन र उपचार गर्न लाग्ने खर्च, उपचारका लागि यातायात, खाना तथा बास खर्च र क्यान्सरका कारण बिरामी तथा बिरामीको आफन्तको गुमेको आय अध्ययनमा समेटिएको बताए। उनले बिमा सुविधाले क्यान्सरको उपचार खर्च नसमेटेको हुनाले सरकारले बिरामीलाई राहत पुग्ने गरी अनुदानको रकम बढाउनुपर्ने बताए । (आजको गोरखापत्र दैनिकबाट)