फाइल तस्वीर
कास्की — सत्ता समीकरणको फेरबदलका कारण प्रदेश सरकारका मुख्यमन्त्रीहरुको दिनहराम भएको भएको छ । नयाँ गठबन्धनले प्रदेशका मुख्यमन्त्रीको पद सङ्कटमा हो ।

नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन दुई महिना नवित्दै फिर्ता लिएपछि त्यसको तत्कालकै प्रभाव गण्डकी सरकारमा परेको छ । नेकपा माओवादी केन्द्रले एमालेलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री खगराज अधिकारीको पद धरापमा परेको हो ।

गण्डकी प्रदेशमा अब नेपाली काङ्ग्रेस र माओवादी केन्द्र मिलेर आलोपालो सरकारको नेतृत्व गर्नेछन् । यी दुई दलबीच गण्डकी प्रदेश सरकारमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । नयाँ सरकार गठनका विषयमा यतिबेला द्रुतगतिमा गृहकार्य भैरहेको छ । माओवादी केन्द्रभन्दा नेपाली काङ्ग्रेस ठूलो पार्टी भएकोले उसले पहिलो कार्यकालमा दावी गरेको छ । माओवादी केन्द्रपनि आफ्नो नेतृत्वमा पहिलो कार्यकाल मुख्यमन्त्री बन्ने होडमा छ ।

गण्डकी प्रदेशको सत्तासमीकरणको विषयलाई लिएर आईतबार मात्रै माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर माओवादी नेतृत्वमा सरकार बनाउन पहल गर्न अनुरोध गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले केन्द्रदेखि सबै प्रदेशहरुको बारेमा छलफल चलिरहेकोले यसविषयमा छिट्टै निर्णय गरेर अघि बढ्ने जवाफ दिनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि गण्डकी प्रदेशमा माओवादी केन्द्रले नै अघिल्लो कार्यकाल नेतृत्व गर्नुपर्छ भन्ने पक्षमा देखिनुभएको छ ।

प्रधानमन्त्रीले तीन दिन अघिमात्रै गोरखाको पन्थडिही–कटहरे–हर्मी–साइँलीटार सडक शिलान्यास गर्दैगर्दा प्रदेश सरकारहरू पुनर्गठन गर्दा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिने बताउनुभएको थियो । केन्द्रमा मन्त्रालयदेखि संवैधानिक पदको भागबण्डा, प्रदेश सरकार लगायत विषयहरू टुङ्गाउने बताउनुभएको थियो ।

यता नेपाली काङ्ग्रेसपनि पहिलो चरणमा आफ्नो नेतृत्वमा सरकार बनाउन चाहेको छ । माओवादीलाई जति सक्दो छिटो एमाले नेतृत्वको सरकारप्रतिको समर्थन फिर्ता लिन काङ्ग्रेस सांसदहरूले दबाब दिएका छन् । अबको केही दिनमै माओवादीले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने र नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने काङ्ग्रेसको बुझाइ छ ।