फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आगामी चैत १० गते विश्वासको मत लिने भएका छन् । आज लिने भनिएको विश्वासको मत गठबन्धनमा कुरो नमिलेपछि १० गतेलाई सारिएको हो । आज ३ बजे बस्ने भनेको बैठकमा काङ्ग्रेसका सांसदहरु उपस्थित नभएपछि बैठक सारिएको हो ।
प्रदेशसभा सचिवालयले आज बस्ने भनिएको बैठक विशेष कारणवश सारिएको भन्दै सूचना मार्फत जानकारी गराएको छ । २०७९ चैत १० गते शुक्रबार दिनको १ बजे बस्ने गरी समय निर्धारण गरेको सचिवालयले जनाएको छ ।

उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा वागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

नेपाली काङ्ग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको मङ्गलबार बसेको बैठकले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेपनि सबै सांसदहरु हेटौंडा गएनन् । गठबन्धन भित्रको कुरा नमिल्दा सांसदहरु हेटौंडा नगएपछि निर्धारित समयभन्दा २ घण्टापछि सूचना टाँस गरी प्रदेश सभा बैठक सारिएको हो ।

काङ्ग्रेसको निर्णयपछि अब आउँदो १० गते शुक्रबार विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।