काठमाडौं — शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको परीक्षा गराउने अन्तिम तयारी भइरहेको जनाएको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बजेट अभावको कारण परीक्षा सञ्चालनमा समस्या आउने नदेखिएको जानकारी गराउनुभएको हो ।

उहाँले भन्नुभयो ‘हामीलाई बजेट अभाव हो तर अहिलेसम्मको स्थितिमा परीक्षा सञ्चालन गर्न समस्या होला जस्तो लागेको छैन ।’उहाँका अनुसार बुधबार नै परीक्षा केन्द्रको विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

आयोगले बजेट अभावको कारण समस्या भइरहेकोले भन्दै अर्थ मन्त्रालयसँग ४ करोड २० लाख बजेट माग गरेको छ । अर्थ मन्त्रालयले नियमित काम नरोक्न भनेकाले आयोगको कुनै पनि काम रोकिने अवस्था नआउने सम्भावना रहेको सूचना अधिकारी मरहठ्ठाले बताउनुभयो ।

आयोगले गत पुष २५ गते ६ सय ८६ पदमा खुलाएको खुला प्रतियोगितात्मक विज्ञापनको परीक्षा चैत १८ गते तोकेको छ ।