फाइल तस्वीर
हेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने आजको कार्यक्रम स्थगित भएको छ । नेपाली काङ्ग्रेसका सांसदहरुसँगको असमझदारीका कारण विश्वासको मत लिनेगरी तयार भएको आजको कार्यक्रम अन्तिम समयमा आएर स्थगित हुनपुगेको हो ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यक्रम स्थगित भएको जनाएको छ । सङ्घीय सरकारमा नयाँ सत्ता समिकरणसँगै प्रदेशमा पनि सरकार पुनर्गठनमा छलफल भइरहेको छ । केन्द्रको निर्णय बमोजिम प्रदेश सरकार फेरबलन हुने भएको बताइएको छ ।

नेपाली काङ्ग्रेसका प्रदेश संसदीय दलले पर्याप्त छलफल विना विश्वासको मत लिने कार्यक्रम नबनान आग्रह गरेका थिए । प्रदेशसभाका काङ्ग्रेस सांसदहरु कोही पनि आजको बैठकमा उपस्थित नहुनेभएपछि अन्तत अन्तिम समयमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम नै स्थागित हुन पुगेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेश सरकारले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । प्रदेश सरकारमा रहेका राप्रपाका सबै (तीन) मन्त्रीले गत फागुन १३ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि बागमती प्रदेश सरकार अल्पमतमा परेको हो ।