फाइल तस्वीर
दाङ — लुम्बिनी प्रदेशसभाका एक स्वतन्त्र सदस्य नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । रुकुमपूर्वको निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएका प्रदेशसभा सदस्य सुरुल पुन माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।

प्रदेशसभा सदस्य पुनले हिजो मङ्गलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै आफु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी गराउनुभएको थियो ।

तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उहाँ विजयी हुनुभएका पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएको थियो । उहाँ पुनः माओवादी केन्द्रमै फर्किनुभएको छ ।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोज्नुभएको थियो । उहाँले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनुभएको हो । पुनले गठबन्धनका उम्मेदवार काङ्ग्रेसका अमर पुनलाई हराउनुभएको थियो । यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।