फाइल तस्वीर
काठमाडौं — अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागिका लागि एन्फाले राष्ट्रिय टिमको घोषणा गरेको हो ।

पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले आज मङ्गलबार नेपाली टिममा आवद्ध खेलाडीको नाम घोषणा गरेका छन् । मुख्य प्रशिक्षक एनेसेले टिममा नयाँ सात खेलाडीले पहिलो पटक स्थान दिएका छन् ।

पहिलो पटक टिममा स्थान पाउने खेलाडीमा गोलकिपरमा अभिषेक बराल, डिपेन्डरमा सनिष श्रेष्ठ र पदम भट्टराई, मिडफिल्डमा नवीन लामा र मणिकुमार लामा तथा फरवार्डमा सुमित श्रेष्ठ र दीपकसिंह ठकुरीले छन् । नेपाली राष्ट्रिय टिमका दर्जन बढी खेलाडी अस्ट्रेलिया पलायन भएपछि एकैपटक सात जना नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका हुन् ।

प्रशिक्षक एनेसेले छोटो अवधिमा टिममा निर्माण गरेका छन् । उनले फिट र उत्कृष्ट खेलाडीलाई स्थान दिएको बताएका छन् । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षकको केही समय अघिमात्रै जिम्मेवारी सम्हालेका एनेसेले नेपालले उत्कृष्ट खेल्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाली राष्ट्रिय टिमका कप्तान एवम् गोलकिपर किरण चेम्जोङले नेपाली टिममा नयाँ खेलाडी र प्रशिक्षक भए पनि नयाँ चुनौतीको सामना गर्न आफ्नो टिम तयार रहेको भन्दै नेपाली टिम प्रतियोगिता जित्ने उद्देश्यका साथ मैदान उत्रने बताएका छन् ।

भोलि बुधबारदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओस गरी तीन देशको सहभागिता हुनेछ । विश्व फुटबल महासङ्घ (फिफा) को वरियता अनुसार नेपाल १७५ औं स्थानमा छ भने भुटान र लाओस क्रमशः १८५ र १८७ स्थानमा छन्।

नेपालले दुवै टिमसँग अहिलेसम्म पराजय भोग्न परेको छैन । फिफा वरियतामा नेपाल अघि रहे पनि दुवै टिमलाई सम्मान गर्ने नेपालका प्रशिक्षक र कप्तानको भनाइ छ । फिफा वरियताको आधारमा खेलको नतिजा निर्धारण नहुने पनि बताएका छन् ।

गत डिसेम्बरमा लाओसले बलियो मानिएको म्यानमारसँग २–२ गोलको बराबरी खेलेको थियो । त्यसयता लाओसले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । भुटानले भने पहिल्लो तीन वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । भुटानले सन् २०१९ यता अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

नेपाली टिममा आवद्ध खेलाडीहरुमा गोलकिपरमा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल छन् भने डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई आदित्य चौधरी र निशान्त खड्का रहेका छन् ।

यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवासले खेल्नेछन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् ।

नेपालले उद्घाटन खेलमा भोलि साँझ ६ बजे लाओसविरुद्ध खेल्नेछ । यस्तै चैत १४ गते भुटानसँग खेल्नेछ । त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुनेछ । समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन् । फाइनल चैत १७ मा साँझ ५ः३० बजे हुने एन्फाले जनाएको छ ।