फाइल तस्वीर

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङ आज रुसको राजधानी मस्को प्रस्थान गर्दै हुनुहुन्छ । रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लाग्नुभएको हो । सी जिनपिङको यो भ्रमणलाई विश्वले महत्त्वका साथ हेरेको छ ।

रुस र युक्रेन दुवै देशलाई युद्ध विरामका लागि आग्रह गरेका एक महिना पछि रुसी राष्ट्रपति पुटिनको निमन्त्रणामा चिनिया राष्ट्रपति सी तीन दिने राजकीय भ्रमणका लागि आज मस्को जान लाग्नुभएको हो ।
भ्रमणमा सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जारी युद्धका बारेमा कुराकानीसहित विभिन्न सम्झौता हुने बताइएको छ । परम्परागत मित्रतालाई मूर्तरुप दिने र ठूलो महत्त्व बोकेको यो भ्रमणले चीन र रुसबीचको रणनीतिक पारस्परिक विश्वास र सहयोगलाई प्रगाढ बनाउने चिनियाँ सञ्चारमाध्यमल ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

युद्धविरामका लागि आग्रहसहित मध्यस्तकर्ता बन्ने प्रस्ताव गरे पनि युक्रेन–रुसको लडार्इंमा चीनले रुसको पक्षधरता देखाउँदै आएको छ । रुसमाथि अमेरिकालगायत पश्चिमा देशले लगाएको प्रतिबन्धको चीनले खुलेरै विरोधसमेत गरिरहेको छ तर पश्चिमा देशहरुले भने चीनले रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि गर्न खोजेको मध्यस्थतालाई पश्चिमा देशले विकृत आँखाले हेरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।