फाइल तस्वीर


काठमाडौं – बङ्गलादेशमा साफ यू–१७ महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । उक्त खेल बङ्गलादेशको राजधानी ढाकास्थित बीएसएसएस मोस्फात कमल रङ्गशालामा आज सोमबारबाट सुरुहुन लागेको हो ।


आजबाट सुरुहुने साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न भएको साफ यू–१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल आजको खेलमा भारतलाई हराएर सुखद् सुरुआत गर्ने योजनाका साथ मैदानमा उत्रने छ । पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेे साफ यू–१७ महिला च्याम्पियनसिप अन्तर्गत आजै हुने अर्को खेल आयोजक राष्ट्र बङ्गलादेश र भुटानबीच हुनेछ ।


यस च्याम्पियनसिपमा आयोजक राष्ट्र बङ्गलादेशसहित नेपाल, भुटान, भारत र रुस गरी पाँच टिमको सहभागिता रहेको छ । सिङ्गल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपाली यू–१७ महिला टिम सशक्त रहेको र तयारी पनि राम्रो रहेको मुख्य प्रशिक्षक भगवती रानाको दावी छ । नेपाल उपाधि रक्षा गर्ने लक्ष्यका साथ बङ्गलादेश पुगेको मुख्यप्रशिक्षक रानाको भनाइ छ ।

‘हामीले राम्रो तयारी गरेका छौँ । जसरी पनि च्याम्पियन हुने नै लक्ष्य छ । सबै म्याच जितेर अंक तालिकामा शीर्ष स्थानमा रहने लक्ष्य छ,’ मुख्य प्रशिक्षक रानाले बतााउनुभएको छ । नेपाल डिफेन्डिङ च्याम्पियन पनि हो । नेपाललाई उपाधि रक्षा गर्ने चुनौती पछि छ । त्यसैले पनि उपाधि रक्षाका लागि हरेक खेल जित्नुको विकल्प छैन ।

यस प्रतियोगितामा पहिलो पटक युरोपियन टिम रुस पनि सहभागी छ । त्यसैले नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती पनि छ । नेपालले युरोपेली शैलीको खेलको अनुभव पनि लिन पाउने छ । ‘रुससँग खेल्ने अवसर नेपालका लागि राम्रो पनि हो । रुसी टिम साफ प्रतियोगिताका लागि नयाँ टिम हो ।


नेपाली प्रशिक्षक राना ‘हामीले युरोपको टिमसँग खेल्ने अनभुव पनि पाउनेछौं । रुससँग मात्र नभएर सबै खेल महत्वपूर्ण छन् र कठिन हुनेछ । तर हामी सबै क्षेत्रमा तयार छौँ र राम्रो खेल्नेछौँ’ भन्नुहुन्छ । मुख्य प्रशिक्षक रानाको भनाइअनुसार नेपाली मोटिभेट छ ।

गत नोभेम्बरमा भएको साफ यू–१५ च्याम्पियनसिपमा नेपाल लगायत बङ्गलादेश र भुटान गरी तीन देशको मात्रै सहभागिता थियो । डबल राउण्ड रोविन लिगका आधारमा खेलाइको उक्त प्रतियोगितामा नेपालले धेरै अङ्क जोड्दै च्याम्पियन बन्न सफल भएको थियो । त्यसबेला नेपालले बङ्गलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो । भुटान दुवै टिमसँग पराजित भएको थियो ।

नोभेम्बरमा सम्पन्न साफ यू–१५ महिला च्याम्पियन जितेको टिमका १७ खेलाडी अहिले पनि टिममा आवद्ध छन् । उनीहरुसँग जोश छ, डिफेन्डिङ च्याम्पियन बन्दाको हौसाला र आत्माविश्वास रहेको मुख्यप्रशिक्षक रानाको भनाइ छ ।

नेपाली टिमको फरवार्डको जिम्मा दीपा रोकाया, वर्षा ओली, सेनु परियारलाई छ भने मिडफिल्डरमा माया मास्के, सुशीला केसी, दिपा मगर, झुमा विश्वकर्मा, भावना परियार, सुक्रिया मिया र पुनम चेम्जोङले पाएका छन् ।

यसैगरी डिफेण्डरको रुपमा रहेका अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु प्रतिद्वन्द्वी दलको लागि पर्खाल भन्न सक्नेछन् भने सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी गोलपोष्ट सम्हाल्ने जिम्मेवारी पाएका छन् ।