टोकियो – महानगरीय प्रहरी महाशाखा टोकियोले अरूको नामको क्रेडिट कार्ड बोकेको आरोपमा पक्राउ परेका नेपालीलाई टोकियो हिरासतमा सोधपुछका क्रममा मृत्यु भएपछि चलेको मुद्दाको ६ वर्षपछि सुनुवाइ भएको छ । अदालतले ३९ वर्षका नेपाली नागरिक अर्जुनबहादुर सिंहको परिवारलाई क्षतिपूर्ति दिन फैसला सुनाएको हो ।
मुद्दाको सुनुवाइमा टोकियो अदालतले महानगरीय प्रहरी विभागका कर्मचारीको लापरबाही भएको स्वीकार गर्दै क्षतिपूर्ति दिन आदेश दिएको हो । टोकियो अदालतका प्रधानन्यायाधीश फूकुदा चिएकोले गरेको फैसलाले राष्ट्रिय सरकार र टोकियो महानगरीय सरकारबाट ७ हजार ५ सय डलर बराबरको क्षतिपूर्तिको आदेशको फैसला सुनाएको छ ।

६ वर्षअघि अर्काको नाममा रहेको क्रेडिट कार्ड बोकेको आशंकामा ‘अरूको नामको कागजात हिनामिना’अन्तर्गतको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। सिंह जापानी भाषा खासै बुझ्दैनथे । आफूलाई राखिएको कोठाबाट निस्कन खोजेको भन्दै प्रहरीले उनलाई पेटी र डोरीले हात खुट्टा बाँधेर राखेको थियो। सोधपुछ गर्ने बेलामा मात्रै उनको पेटी र डोरी केही खुकुलो पारिदिने गरेको र डोरी बाँधेकै कारण सिंहको हात सुन्निएर रगत प्रवाह अवरुद्ध भएको थियो । रगत प्रवाह बन्द हुँदा पनि समयमै अस्पताल नलगेको र बेहोस भएपछि मात्र अस्पताल लैजाँदा मृत्यु भएको बताइएको छ ।

अनुसन्धानको क्रममा हिरासतमा राख्नु ‘गैरकानूनी’ नभएको ठहर गर्दै, तर बिरामीले उपचार नपाउनु अन्याय भएको फैसलामा उल्लेख छ । बेलैमा अस्पताल पु¥याएको भए मृत्यु हुनबाट जोगाउन सकिने भन्दै प्रहरी अनुसन्धानकर्ताको लापरबाही भएको फैसलाले स्वीकार पनि गरेको छ ।

सिंहकी श्रीमतीले प्रहरी र हिरासतका अनुसन्धानकर्ताको गल्ती भएको भन्दै ४ लाख ५० हजार डलर बराबरको क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता गरेकी थिइन् । वकिलहरूले मुद्दा मृतकको परिवारको पक्षमा भए पनि क्षतिपूर्ति रकम हेर्दा दुःख लागेको बताएका छन् ।

फैसलापछिको पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता ओगावाले भने, ‘हामीले मुद्दा जिते पनि अदालतले क्षतिपूर्तिको रकम नेपाली कानून अनुसारको ल्यायो, जुन अव्यावहारिक छ र मानवअधिकारको हिसाबले पनि यो निकै चिन्ताजनक हो ।’

मृतक अर्जुनकी श्रीमती अम्बिका बुढासिंहले जापानी मिडियामा बोल्दै भनेकी छन् ‘मृत्यु हुनुभन्दा २ दिन अघि म ठिक छु मेरो चिन्ता नगर्नु भन्नुभएको थियो । त्यसको ३ दिनपछि श्रीमानको मृत्यु भयो भन्ने खबर आयो जापानमा यस्तो हुन्छ भनेर कहिल्यै सोचेकी थिइन् । मेरो श्रीमान धेरै राम्रो मान्छे हुनुहुन्थो। यो घटना कहिल्यै बिर्सन सक्दिनँ ।’

नेपालको कानून अनुसार क्षतिपूर्ति दिइ रकम घटाइएको भन्दै फैसलाको आलोचना भएको छ । यो फैसलाविरुद्ध सिंह परिवार पक्षका वकिलहरूले पुनरावेदन अदालत जाने तयारी गरिरहेको समेत जापानी मिडियाले खबर छापेका छन् । जापानमा अर्को व्यक्तिको स्वामित्वमा रहेको कुरालाई आफ्नो भनेर बोकेर हिँड्नु या प्रयोग गर्नु अपराध मानिन्छ ।