फाइल तस्वीर
नयाँ दिल्ली — दक्षिण भारतीय शहर हैदरावादमा बहु–तले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनाका साथै अन्य छ जना घाइते भएका छन् । प्रहरीका अनुसार शहरको सिकन्दराबाद क्षेत्रमा बिहीबार साँझ आगलागी भएको हो ।

आगलागीमा दुई पुरुष र चार महिला गरी छ जनाको मृत्यु भएको एक प्रहरी अधिकारीले भनेका छन् । त्यस्तै अन्य ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइते ६ जना मध्ये चार जनाले आगोबाट बच्न कम्प्लेक्सबाट हाम फालेका थिए ।

आगलागी नियन्त्रणका लागि १२ वटा दमकल घटनास्थलमा पुगेको र शुक्रबार बिहानसम्म आगो निभाउने कार्य जारी रहेको बताइएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत प्रवाहमा समस्या उत्पन्न हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।