साङ्केतिक तस्वीर
काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज घटेको छ । साताको चौंथो कारोवारको दिन नेप्से १४ दशमलव ४४ अङ्कले घटेको हो ।
आज एक हजार नौ सय ३८ दशमलव ६२ अङ्कमा कायम भएको छ । आजको कारोवारमा कूल दुई सय ५३ वटा कम्पनीका विभिन्न ३७ लाख १६ हजार छ सय ८४ कित्ता शेयर एक अर्ब २० करोड २१ लाख ४१ हजार रुपैयाँमा कारोवार भएका छन् ।

आजको कारोवारमा व्यापार समूह १० दशमलव ५७ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६९ दशमलव ४६ र लघुवित्त समूहको उपसूचक ६८ दशमलव ३५ अङ्कले घटेको छ ।

 साथै बैंकिङ समूह नौ दशमलव ९४, विकास बैंक समूह २७ दशमलव २४, वित्त समूह १४ दशमलव १६, होटल तथा पर्यटन सात दशमलव ३९ र जलविद्युत् समूह नौ दशमलव ६९ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ४३, उत्पादन तथा प्रशोधन समूह ३२ दशमलव ४२, म्युचुअल फन्ड शून्य दशमलव ०३, निर्जीवन बीमा समूह १७ दशमलव ०६ र अन्य समूह चार दशमलव १२ अङ्कले घटेका छन् ।

आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र शुभम् पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै पाँच दशमलव ९० अङ्कको गिरावट देखिएको छ । कारोबार रकमका आधारमा आज एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको एक लाख ३८ हजार पाँच सय ९३ कित्ता शेयर किनबेच भएको छ ।