फाइल तस्वीर
सर्लाही — सर्लाही जिल्लाको बागमती नगरपालिका–१० का स्थानीय एक किसानले विगत १० वर्षदेखि सुरु गर्नु भएको व्यवसायिक च्याउखेती फस्टाएको छ । एक दशकभन्दा बढी वैदेशिक रोजगारीमा बिताउनुभएका ध्रुव चौलागाईंले व्यवसायिक रुपमा च्याउ उत्पादन गर्नुभएको हो ।
काठमाडौं उपत्यका च्याउ र गोलभेँडाको राम्रो मागदेखि आफू च्याउखेती तर्फ आकर्षित भएको बताउनुहुने चौलागाईंले विगत दश वर्षदेखि तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ उत्पादन गरी काठमाडौँमा बजार बिस्तार गर्दै आउनु भएको छ । तत्कालीन समयमा एक लाख रूपैयाँ लगानी गरेर ध्रुव कृषि फर्म प्रा.लि. दर्ता गरी व्यवसायिक च्याउखेती गर्दै आउनुभएको हो ।
चौलागाईं भन्नुहुन्छ “जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौं लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो”, उहाँले भन्नुभयो, “त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।”
एक लाख रूपैयाँ लगानीमा एक सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म ११ करोड रूपैयाँ भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उहाँले हाल अहिले एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेलका बनाउनुभएको छ । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक १० करोड रूपैयाँसम्म कारोबार गरेको उहाँको भनाइ छ ।
व्यवसायमा आमा, बुबा, श्रीमति र छोराको राम्रो साथ पाउनु भएका उहाँले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब नौ करोड रूपैयाँ ऋण लागेको बताउनुभयो । कक्षा १२ सम्मको अध्यायन गर्नुभएका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिनुहुन्छ । “च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो, “फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ ।”
हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिनुभयो । यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौँलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उहाँले च्याउ हाल प्रतिकिलो तीन सय ५० रूपैयाँका दरले बिक्री गर्दै आउनुभएको छ ।
सात जनालाई आवासीय जागिर
चौलागाईंले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिनुभएको छ । उहाँले तनहँुका दुई जना र बुटवलका पाँच जना गरी सात जनालाई आवासीय जागिर पनि दिनुभएको छ ।
फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राख्नुभएको छ । आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहनुभएको छ ।