काठमाडौं — आगामी चार वर्ष पछि अर्थात् सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताको टिम समूहगत पुरानै परिपाटीलाई निरन्तरता दिने भएको छ । प्रत्येक समूहमा चारवटा टिमलाई समावेश गर्दै आएको फिफाले आगामी प्रतियोगिताको समूहचरणमा पनि चार टिममात्रै रहने व्यवस्था गरेको हो ।

तीन अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने २०२६ विश्वकपमा ४८ राष्ट्रको सहभागिता हुनेछ । विश्वकप फुटवल प्रतिस्पर्धामा टिमसङ्ख्या बढेपछि फिफाले १६ समूह बनाउने तयारी गरेको थियो ।

कतारमा हालैसम्मन्न २३ औं संस्करणको विश्वकपमा चार टिमको समूह प्रभाकारी रहेकोले फिफाले अब हुने विश्वकपमा पनि समूहचरणमा प्रत्येक समूहमा चार टिम राखी १२ समूह बनाउने निर्णय गरेको छ । अफ्रिकी राष्ट्र रुवाण्डामा भएको फिफा काउन्सिलले यो निर्णय गरेको हो । यस निर्णयसँगै आगामी विश्वकपको २४ औं संस्करणमा कूल १०४ खेलहरु हुनेभएका छन् ।

फिफाको नयाँ नियम अनुसार हरेक समूहको शीर्ष दुईसँगै तेस्रो स्थानमा रहने ८ उत्कृष्ट टिम अन्तिम ३२ मा प्रवेश गर्नेछन् । यसअघिका प्रतियोगितामा फाइनल पुग्ने टिमले ७ खेल खेल्ने गरेकोमा अब फाइनलमा पुग्ने टिमले ८ खेल खेल्नुपर्ने भएको छ ।

कतार विश्वकपको सफलतापछि गत डिसेम्बरमै फिफा अध्यक्ष जियानी इन्फान्टिन्होले सन् २०२६ को विश्वकपमा चार टिमको समूह बनाउने बारे पिफाले सोचेको जानकारी गराएका थिए ।