काठमाडौं — सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको स्वामित्वमा रहेको कम्पनी मेटाले १० हजार कामदारलाई जागिरबाट निकालेको छ । दश हजार कामदारलाई जागिरबाट निकाल्नुका साथै कम्पनीमा ५ हजार दरबन्दी खाली राखिएको बीबीसीले जनाएको छ । मेटाका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले कर्मचारी घटाउनुपरेको बताएका छन् । उनले भनेका छन्, ’कर्मचारी कटौतीको निर्णय दुखद भए पनि यो आवश्यक थियो ।’

अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ । जुकरबर्गले कर्मचारीहरूलाई सन्देशमा भनेका छन्, ’मलाई लाग्छ हामी नयाँ आर्थिक अवस्थासँग जुध्न तयार हुनुपर्छ किनभने यो अवधि लामो हुनेछ ।’ मेटाले जस्तै गुगल र अमेजन जस्ता ठूला कम्पनीहरूले पनि यस्तै समस्याको सामना गरिरहेका छन् ।

सन् २०२३ को सुरुमै अमेजनले १८ हजार जनालाई जागिरबाट निकालेको थियो। ‘अनिश्चित अर्थतन्त्र’ र अव्यवस्थित रोजगारी सिर्जनाका कारण उक्त कदम लिनुपरेको अमेजनले बताएको थियो । गुगलको कम्पनी अल्फाबेटले पनि १२ हजार रोजगारी कटौती गरेको छ ।