फाइल तस्वीर
क्वालालम्पुर — मलेसियाको थोक तथा खुद्रा बिक्री गत वर्षको जनवरीको तुलनामा यस बर्ष १२.४ प्रतिशतले वृद्धि भई १३५.१ अर्ब रिंगिट (करिब ३०.१ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागका (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै खुद्रा व्यापार उप–क्षेत्रमा २१.७ प्रतिशतले वृद्धि भई ५९ अर्ब ६० करोड रिंगिट पुगेको जनाएको छ ।
यस्तै सवारी साधनको बिक्री २०.१ प्रतिशतले बढेर १५ अर्ब २० करोड रिंगिट पुगेको छ भने थोक व्यापार ३.१ प्रतिशतले बढेर ६० अर्ब ४० करोड रिंगिट पुगेको छ । यद्यपि, गत बर्षको डिसेम्बरको तुलनामा थोक र खुद्रा व्यापारको बिक्री मूल्य १.६ प्रतिशतले घटेको सरकारी तथ्याङ्कले देखाएको छ ।
डिसेम्बरको तुलनामा सवारी साधन निर्माण क्षेत्रको बिक्री मूल्यमा १३.४ प्रतिशतले घटेको कारण थोक तथा खुद्रा कारोबारमा पनि कमी आएको देखिएको हो । सोमबार मलेसियाको १ रिङ्गिट बराबर ०.२२ अमेरिकी डलर कायम रहेको थियो ।