फाइल तस्वीर
वीरगञ्ज — प्रतिनिधिसभाका सदस्य रमेश रिजालले नेपाली काङ्ग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताउनुभएको छ । वीरगञ्जका सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै सांसद रिजालले चैतको ५ वा ६ गतेभित्र काङ्ग्रेसमा सरकारमा सहभागी बताउनुभएको हो ।

काङ्ग्रेस सांसद रिजालले कुन–कुन मन्त्रालय लिने र क–कस्लाई मन्त्री बनाउने विषयमा पार्टीभित्र र सरकारमा सहभागी दलहरुसँग छलफल भइरहेको खुलासा गर्नुभयो । नेता रिजालले उपराष्ट्रपतिको निर्वाचन सकिए लगतै काङ्ग्रेस सरकारमा जाने बताउनुभयो ।

नेपाली काङग्रेसले नौ वा १० मन्त्रालयवटा मन्त्रालय लिएर सरकारमा जाने गरी सहमतिको नजिक पुगेको दावी समेत गर्नुभयो । सांसद रिजालेले भन्नुभयो “कुन नेताको नेतृत्वमा सरकारमा जाने विषयमा कुनै ठोस निर्णय भइसकेको छैन । पार्टीले जसको आवश्यकता देख्छ, सरकारको नेतृत्व उसैले गर्छ, तर पार्टीले निर्णय गरिसकेको छैन ।”

आठ दलीय गठबन्धनबाट उपराष्ट्रपतिका लागि तीन जनाको उम्मेदवारी परे पनि अन्तिम समयसम्ममा एकजना उम्मेदवारमा सहमति हुने जिकिर गर्नुहुँदै उहाँले यस विषयमा गठबन्धन आवद्ध दलबीच प्रयास भइरहेको बताउनुभयो ।

राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल तटस्थ भूमिका निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुहुँदै नेता रिजालले राष्ट्रपति पौडेलबाट प्रजातन्त्रको स्थायित्व र संविधानको रक्षा हुने उल्लेख गर्नुभयो ।